एजेन्सी । दिग्गज क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो २४ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा अनेकौं कीर्तिमान बनाएका छन् । ‘मास्टर ब्लास्टर’को नामले परिचित सचिनले टेस्ट र वनडे क्रिकेटमा अभूतपूर्व सफलता प्राप्त गरे । उनका अगाडि विश्वका उत्कृष्ट बलरहरू बलिङ गर्न डराउँथे । वनडे क्रिकेटमा उनले यस्ता विश्व कीर्तिमान बनाए, जुन अहिलेसम्म कुनै एक खेलाडीले तोड्न सकेका छैनन् । उनका यी ६ ऐतिहासिक कीर्तिमान आगामी भविष्यमा पनि अटुट रहने सम्भावना छ ।
१. वनडे क्रिकेटमा सबैभन्दा धेरै रन
सचिन तेन्दुलकरले ४६३ एकदिवसीय अन्तर्राष्ट्रिय (वनडे) खेलमा सर्वाधिक १८,४२६ रन बनाएका छन् । उनको यो कीर्तिमान तोड्नु कुनै पनि खेलाडीका लागि सगरमाथा चढ्नुसरह कठिन छ । उनले वनडेमा ४९ शतक र ९६ अर्धशतक प्रहार गरे । ४४.८३ को औसतमा रन बनाएका सचिनको स्ट्राइक रेट ८६.२३ थियो । वनडेमा उनको सर्वश्रेष्ठ स्कोर नटआउट २०० रन हो । सचिनको यो विश्व कीर्तिमान सम्भवत: कहिल्यै नटुट्ने रेकर्डमध्ये एक हो ।
२. सबैभन्दा धेरै वनडे म्याच खेल्ने
१८ डिसेम्बर १९८९ मा पाकिस्तानविरुद्ध वनडे क्रिकेटमा डेब्यू गरेका सचिनले ४६३ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । यो संख्यामा कुनै पनि खेलाडी पुग्न मुस्किल देखिन्छ । सचिनको वनडे करियर २२ वर्ष ९१ दिन लामो रह्यो । यो सूचीमा श्रीलंकाका महेला जयवर्धने (४४८ म्याच) दोस्रो स्थानमा छन् भने सनथ जयसूर्या (४४५ म्याच) तेस्रो स्थानमा छन् । तर हालका सक्रिय खेलाडीहरू यस रेकर्डको नजिकसम्म पनि छैनन् ।
३. एकै वर्ष सबैभन्दा धेरै रन
सचिन तेन्दुलकरको नाममा एकै वर्षमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान छ । उनले सन् १९९८ मा १८९४ रन बनाए, जुन आजसम्म पनि विश्व कीर्तिमान हो । त्यस वर्ष उनले ३४ वनडे खेल्दै ३३ पारिमा ६५.३१ को औसत राखे । उनले त्यस वर्ष ९ शतक र ७ अर्धशतक प्रहार गरे । सचिनको त्यो वर्षको सर्वश्रेष्ठ स्कोर १४३ रन थियो । हालको समयमा वनडे खेलको संख्या कम हुँदै गएकाले यो रेकर्ड तोड्न झनै कठिन देखिन्छ ।
४. सबैभन्दा धेरै ‘प्लेयर अफ द म्याच’ अवार्ड
सचिन तेन्दुलकर वनडे क्रिकेटमा सर्वाधिक ६२ पटक ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएका छन् । यो विश्व कीर्तिमान हो । दोस्रो स्थानमा सनथ जयसूर्या छन्, जसले ४८ पटक यो अवार्ड जितेका छन् । भारतका विराट कोहली हालसम्म ४३ पटक ‘प्लेयर अफ द म्याच’ बनेका छन् । सचिनको यो कीर्तिमान तोड्न कठिन देखिन्छ ।
५. वनडे क्रिकेटमा सबैभन्दा धेरै चौका
सचिन तेन्दुलकरले आफ्नो वनडे करियरमा कुल २०१६ चौका प्रहार गरे । यो संख्या अहिलेसम्म कुनै खेलाडीले उछिन्न सकेका छैनन् । टेस्ट क्रिकेटमा पनि उनले २०५८ चौका प्रहार गरेका थिए भने टी-२० अन्तर्राष्ट्रियमा उनले २ चौका मात्र हाने । अन्तर्राष्ट्रिय क्रिकेटमा उनका कुल ४०७६ चौका रहेका छन् । वनडे क्रिकेटमा चौका हान्ने मामिलामा सनथ जयसूर्या (१५०० चौका) दोस्रो स्थानमा छन् ।
६. ओपनरका रूपमा सबैभन्दा धेरै रन
वनडे क्रिकेटमा ओपनरका रूपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ । उनले ओपनिङ गर्दै ३४० पारिमा १५,३१० रन बनाएका छन् । दोस्रो स्थानमा रहेका सनथ जयसूर्याले ३८३ पारिमा १२,७४० रन बनाए । तेस्रो स्थानमा रहेका क्रिस गेलले २७४ पारिमा १०,१७९ रन बनाए । ओपनरका रूपमा सचिनको यो कीर्तिमान तोड्न कुनै खेलाडीलाई अत्यन्त कठिन हुनेछ ।
सचिन तेन्दुलकर क्रिकेट इतिहासका एक महान खेलाडी हुन् । उनले वनडे क्रिकेटमा यस्ता कीर्तिमान बनाए, जुन तोड्न कुनै पनि खेलाडीका लागि असम्भव झैँ देखिन्छ । हालको क्रिकेट शैली परिवर्तन भइसकेको छ, नयाँ खेलाडीहरू विभिन्न फर्म्याटमा खेल्न बाध्य छन्, जसका कारण सचिनका यी रेकर्डहरू अझै धेरै वर्षसम्म सुरक्षित रहने सम्भावना छ ।













