अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ
बिहीवार भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। साविक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए। उनले भने, “हामो लक्ष्य च्याम्पियन बन्ने हो, यसपाली जसरी पनि उपाधि रक्षा गछौँ।”
बिहीवारको जीतमा कप्तान दीपेन्द्रसिंह ऐेरी र ट्यालेन्ट हन्टबाट छानिएर आएका बिहीवारको खेलमै डेब्यू गरेका हिक्मत महराको महत्वपूर्ण योगदान रहेको प्रशिक्षक टमटाको भनाइ छ। दीपेन्द्र मल्टी ट्यालेन्टेड खेलाडी भएको र उनको सबै पक्ष राम्रो भएको उनले बताए।
महरा नेपाली क्रिकेटमा भविष्य खोज्दै गरेका खेलाडी भएको र पहिलो खेलमै विकेट लिनु सुखद पक्ष भएको प्रशिक्षक टमाटाले बताए। “उल्लेख्य दर्शकका अगाडि त्यो उमेरको खेलाडीले डेब्यू खेलमा गरेको प्रदर्शन सम्झनलायक छ”, उनले भने । प्रशिक्षक टमाटाले सुदूरपश्चिमका समर्थकलाई पनि समर्थनका लागि धन्यवाद दिए।









