धनगढी । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा पनि शक्ति समीकरण फेरिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूह यसपटक टिकट वितरणमा अपेक्षाकृत कमजोर देखिएको छ ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले केवल पाँच क्षेत्रमा मात्र टिकट पाएको छ । देउवाका निकट मानिने एनपी साउद, नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्ट प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।
यसपटक पूर्वगृहमन्त्री रमेश लेखक टिकटबाट बाहिरिएका छन् । कञ्चनपुर–३ बाट आकांक्षी रहेका उनलाई छोडेर सभापति गगन थापा पक्षधर हरिप्रसाद बोहरालाई उम्मेदवार बनाइएको छ ।
कैलाली–४ मा पार्टीको संसदीय बोर्डले वीरबहादुर बलायरलाई टिकट दिए पनि उनले चुनाव लड्न अस्वीकार गरेपछि देउवानिकट गोरखबहादुर विष्टलाई उम्मेदवार बनाइएको हो । त्यस्तै, कैलाली–५ मा सुरुमा डा. आरजु राणा देउवाको नाम सिफारिस भए पनि अन्ततः नरनारायण शाहले टिकट पाए ।
डडेल्धुरामा शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताएपछि नैनसिंह महर उम्मेदवार बनेका छन् । समग्रमा सुदूरपश्चिमका १६ मध्ये ११ क्षेत्रमा सभापति गगन थापा निकट समूहले टिकट पाएको देखिन्छ ।
सुदूरपश्चिममा कांग्रेसका उम्मेदवारहरू:
बाजुरा – जनकराज गिरी
अछाम–१ – भरतकुमार स्वार
अछाम–२ – पुष्पबहादुर शाह
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
दार्चुला – धर्मानन्द जोशी
बझाङ – प्रकाश रसाइली ‘स्नेही’
डडेल्धुरा – नैनसिंह महर
कैलाली–१ – जनकराज चौधरी
कैलाली–२ – विजयबहादुर स्वार
कैलाली–३ – भीम बडुवाल
कैलाली–४ – गोरखबहादुर विष्ट
कैलाली–५ – नरनारायण शाह
कञ्चनपुर–१ – गोपीप्रसाद उपाध्याय
कञ्चनपुर–२ – एनपी साउद
कञ्चनपुर–३ – हरिप्रसाद बोहरा










