काठमाडौं । लोकगायक पशुपति शर्मा, शिव हमाल र घनश्याम रिजाल सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जामा दुर्घटना भएको हो ।
स्याङ्जाको भीरकोट नगरपालिका २ मा उनीहरू सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गायक पशुपति शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ ।
यस्तै अन्य गायकहरू सामान्य घाइते भएका छन् । भिडियोमा देखिएअनुसार शर्माले चोट लागेको हातमा ब्यान्डेज बाँधेका छन् । गायन प्रस्तुति कार्यक्रमका लागि पोखराबाट वालिङ जाँदै गरेका उनीहरू सवार कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँएको थियो ।
गायक शिव हमालले दुर्घटना सामान्य भएको भन्दै चिन्ता नलिन अनुरोध गरेका छन् । उनले भने, “स्लिप भएर दुर्घटना भएको मात्र हो, सबै जना सुरक्षित छौं ।”
दुर्घटनापछि सार्वजनिक भएको भिडियोमा गायक पशुपति शर्माले हल्का व्यंग्यात्मक शैलीमा भनेका छन्, “ग्रह कट्यो, घाँस काट्दा हात काटेजस्तो हो, सामान्य दुर्घटना हो ।” उनीहरू स्याङ्जामा आयोजना भएको एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएका थिए ।











