बैतडी: जिल्लाको सुर्नया गाउँपालिकामा करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब उक्त रिक्त पदमा जितेन्द्र बी.के.लाई जिम्मेवारी दिएर खटाएको छ।
कार्तिक २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो। मन्त्रालयको माघ २ गतेको निर्णय अनुसार हाल सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गत कार्यरत शाखा अधिकृत बी.के.लाई सुर्नयाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो। यो निर्णय स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ (४) अनुसार गरिएको मन्त्रालयले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता निकासा तथा विकास निर्माणका योजना अगाडि बढ्न सकेका थिएनन्। अध्यक्ष कुँवरले मन्त्रालयमै पुगेर अधिकृत खटाइदिन आग्रह गरेपछि मन्त्रालयले निर्णय गरेको हो। नयाँ अधिकृत हाजिर भएसँगै रोकिएका कामहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ।










