दार्चुला । सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा आर्थिक वर्ष २०८१-८२ मा वृद्धि भएको छ। प्रमुख कृषि बाली—खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसलाले ढाकेको क्षेत्रफल यो वर्ष २.१६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस क्षेत्रमा ७.७१ प्रतिशतको गिरावट आएको थियो।
बाली अनुसार हेर्दा धान र गहुँको क्षेत्रफल क्रमशः २.४८ र ४.२३ प्रतिशतले घटेको छ भने मकै, कोदो, जौँ, फापर, आलु, उखु, भटमास, दलहन र तेलहनको क्षेत्रफलमा ०.८० प्रतिशतदेखि ७४.१३ प्रतिशतसम्म वृद्धि भएको छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ९.५८ प्रतिशतले वृद्धि भएको छ, अघिल्लो वर्ष यो क्षेत्र ४.९६ प्रतिशतले घटेको थियो। फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल पनि यस वर्ष ८.५२ प्रतिशतले बढेको राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।
खाद्य तथा अन्य बालीको उत्पादन पनि २.७६ प्रतिशतले बढेको छ। तीमध्ये सबैभन्दा बढी तेलहनको उत्पादन १८.८९ प्रतिशत र आलुको उत्पादन १६.११ प्रतिशतले बढेको छ भने फापरको उत्पादन ७७.८८ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट देखिएको छ। जिल्लागत आधारमा कैलाली, कञ्चनपुर र दार्चुलामा खाद्य तथा अन्य बाली उत्पादनमा वृद्धि भएको छ, जसमा कैलाली अग्रस्थानमा छ। अछाममा भने १५.६५ प्रतिशतले उत्पादन घटेको छ।









